सोमबार, २१ साउन २०८१, ओखलढुंगा। ओखलढुंगाका एक युवकको काठमाडौँको कालोपुलमा हत्या भएको छ।

ओखलढुंगाको लिखु गाउँपालिका –९ घर भई काठमाडौँको कालोपुलमा कोठा भाडामा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको हो। उनलाई आफ्नै कोठामा शंकास्पद अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा महतको हत्या भएको खुलेको प्रहरीले जनाएको छ। उनको धारिलो हतियार प्रहार गरि हत्या गरेर झुण्डाईएको अवस्थामा शव फेला परेको एसपी अधिकारीले बताए। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाईएको छ।

यसैबीच, हत्यामा संलग्न भएको आशंकामा प्रहरीले महतको श्रीमती सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतक महतको श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही स्थानका २७ वर्षीय मदन रम्तेल रहेका छन्।