१५ बैशाख २०८०, शुक्रबार,
दोलखा । केहि समय अघि भएको घट्नालाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधिसभा बैठकमा पुनः आवाज उठान गर्न बाध्य भएका छन् । आज शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूले सदनको सुरुमै कोइरीको विषय उजागर गरेको भन्दै पुनः सो विषय उठाएको जानकारी गराए । यहि विषय विगतमा उनले रवि लामिछाने गृहमन्त्री भएका बेला प्रतिनिधिसभाको बैठकमा एमालेका फरार सांसद कोइरी किन पक्राउ गर्न नसकेको भन्दै २ पटक सदनमा प्रश्न उठाएका थिए । मन्त्रीबाट हटेपछि लामिछानेले सांसद खतिवडामाथि व्यक्तिगत कटाक्ष गरेका थिए । उपनिर्वाचनबाट निर्वाचित भएपछि लामिछानेले शुक्रवार पहिलोपटक संसद् बैठकमा सहभागिता जनाएका हुन ।
उपनिर्वाचनबाट निर्वाचित भएपछि रवि लामिछानेको नाम नलिई सांसद खतिवडाले भने– ‘मैले यो सदनको सुरुमै एउटा विषय उजागर गरेको थिएँ, आज फेरि त्यसलाई पुनः स्मरण गराउन चाहे लक्ष्मी महतो कोइरीको बारेमा । मैले यो विषयमा कुरा उठाउँदा एकजना माननीयले मेरो व्यक्तिगत कुरामा चर्चा परिचर्चा गर्नुभयो । मैले एउटा सांसदको नाताले सरकारको ध्यानाकर्षण गराएको हुँ । यस संसदका सभामुख महोदय, अहिले पनि संसद् सचिवालयका महासचिवका नाममा नेपाल प्रहरीले चिठी लेखेर सम्मानित उच्च अदालत जनकपुरको आदेश अनुसार उहाँ थुनामा बस्नुपर्ने भनेर चिठी लेखिएको तर त्यो कार्य आजसम्म पनि कार्यान्वयन भएको छैन ।’
फेरी उनले अगाडि भने– ‘लगातार १० बैठकमा अनुपस्थित हुँदा पनि कुनै संसदीय समितिमा राखिएको सुन्नमा आएको छ । संसद्ध सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्ष तिर नभई सम्पूर्ण सदनको पक्षमा हुन्छ भन्ने हामीले बुझेका छौँ । त्यसैले संविधानको धारा ८९ को घ र प्रतिनिधि सभा नियमावली २०४८ को ‘घ’अनुसार उहाँ निलम्बित हुनुपर्ने हो कि हैन , तर आजसम्म निलम्बित नहुनुको कारण के हो महोदय, संसद्मा खुल्ला रुपले जानकारी गराइयोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’
त्यसै गरी उनले अयोग्य लडाकुले २ लाख पाउने भन्ने कुरा आएको बताउँदै अयोग्यलाई मात्र नभई नेपालको योग्य नागरिकलाई पनि २ लाख दिइयोस् भन्ने माग गरेका छन् । साथै उनले अहिले आर्थिक अवस्था कमजोर भएका बेला अयोग्यका नाममा रकम बाँड्न बन्द गर्न आग्रह पनि गरेका छन् । सत्तापक्ष दलका सांसद खतिवडाले यो कुरा उठाउँदा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले टेबल बजाएर समर्थन गरेको छन्।
