मंगलबार, १२ भदौ २०८०, दोलखा । मेलुङ पालिकासँग जोडिएको १९ किलोमिटरको नयाँपुल–पवटी–डाँडाखर्क सडकको बाँकी खण्ड निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। यातायात पूर्वाधार निर्देशनालयले असार अन्तिम साता सो सडक कालोपत्रेको लागि ठेक्का आव्हान गरेको हो। ९ वटा आवेदन परेको र हाल बोलपत्र मूल्यांकनको काम भइरहेको निर्देशनालयका इन्जिनियर हरिप्रसाद ओझाले जानकारी दिए। उनका अनुसार निर्माण कम्पनी छनौटको काम सकेपछि दशैंतिहार पछिवाट काम सुरु हुनेछ।
एडिबीको ऋण सहयोगमा ग्रामिण सडक संजाल सुधार कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे हुनेछ। नयाँपुल–पवटी–डाँडाखर्क जोड्ने सडक कालोपत्रे गर्न १९ करोड १८ लाखको ठेक्का प्रकृयामा रहेको छ। दुई वर्षभित्र सम्पन्न गर्नु पर्ने सो सडकको चौडाई साढे ५ फिटको हुनेछ भने नाला निर्माण गरी कालोपत्रे गरिनेछ। भएको छ । केही वर्ष अघि मात्रै संघीय सरकार र एडिवीको २८ करोड बजेटबाट साँढे १० किलोमिटर सडक कालोपत्रे भएको थियो।
नयाँपुल–पवटी–डाँडाखर्क सडकको १० किलोमिटर कालोपत्रे भइसकेकोले अब बाँकी खण्डको स्तरउन्नती र कालोपत्रे पछि गाउँपालिकाबासी प्रतक्ष्य लाभान्वित हुने पालिका अध्यक्ष हिरा कुमार तामाङले बताए। सो सडक पक्की भएपछि मेलुङका नागरिक मात्रै नभएर शैलुङ गाउँपालिकाका केही क्षेत्रका नागरिकहरुका लागि समेत सहज हुनेछ।
