बुधबार, १० असोज २०८०, दोलखा। राष्ट्रिय मानवअधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन प्रारम्भ गरेको जनाएको छ।

भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मिति गत भदौ ३ गते मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए।

आयोगले मोरङ, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरुको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयलाई पत्राचार गरेको छ।

आयोगले हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्ला स्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहका बालकको मृत्यु भएको एवं केही बालक घाइते भएको घटनाको अनुगमन प्रारम्भ गरेको हो।

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिनअघि दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहमा समस्या देखिएको आयोगले जनाएको छ।