मङ्गलबार, ०८ असोज २०८१, काठमाडौँ। सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका पूर्व सचिव सहित चार जनालाई ८ वर्ष कैद सजायको फैसला भएको छ। विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका मेलम्ची आयोजनाका तत्कालिन अध्यक्ष एवम् पूर्व सचिव गजेन्द्र ठाकुर सहित सुर्यराज कँडेल र रामचन्द्र देवकोटालाई ८ वर्ष १ महिना कैद र विगो बराबरको जरिवाना सुनाएको छ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्धय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले परामर्शदाता शिवकुमार शर्मालाई पनि ८ वर्ष कैद र २ करोड ९५ लाख रुपैयाँ विगो सजायको फैसला गरेको छ। शर्मा ६५ वर्ष नाघेको हुँदा उनको कैद सजायमा दुई वर्ष छुट दिइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा तीन पूर्व सचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले ठाकुर सहित चार जनालाई दोषी ठहर गरेको थियो भने पूर्व सचिव भीम उपाध्याय, सञ्जय शर्मा र रुद्रसिंह तामाङ सहित अन्य ११ जनालाई सफाइ दिएको थियो।
