चरिकोट, दोलखा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको पहिलो जिल्ला अधिवेशनबाट दिनेश बस्नेत पुनः सर्वसम्मत रूपमा जिल्ला सभापति चुनिनुभएको छ। शनिबार सदरमुकाम चरिकोटमा भएको बन्दसत्रबाट बस्नेत सभापति र रमेश श्रेष्ठ सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको हो।

यी दुई शीर्ष पदमा सर्वसम्मतिको सहमति जुटे पनि अन्य पदाधिकारी र सदस्यका लागि भने चुनावी भिडन्त सुरु भएको छ। निर्विरोध भएका बाहेकका पदका लागि शनिबार साँझ ६:३० बजेदेखि मतदान सुरु भइसकेको नवनिर्वाचित सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो।

कसको कससँग पर्दैछ टक्कर?

कूल ९ सदस्यीय जिल्ला कार्यसमितिमा २ पदाधिकारी र ५ सदस्य छान्नका लागि मतदान भइरहेको छ। निर्वाचनको चुनावी समीकरण यस्तो छ:

  • उपसभापतिमा दुई ‘हेभीवेट’: तदर्थ समितिका उपसभापति कृष्ण खड्का र हिरण्य प्रसाद उप्रेती आमनेसामने छन्।
  • सहसचिवमा पनि भिडन्त: निवर्तमान सहसचिव माधव शिवाकोटी र अर्जुन कार्कीबिच प्रतिस्पर्धा छ।
  • सदस्यमा आकांक्षी धेरै: ५ जना सदस्यका लागि करिब एक दर्जन नेताहरू चुनावी मैदानमा उत्रिएका छन्।

यो अधिवेशनबाट चुनिने कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ। निर्वाचित ५ जना सदस्यहरूमध्येबाटै समावेशीताको आधारमा एकजना महिला सदस्यलाई कोषाध्यक्ष पदमा मनोनीत गरिने पार्टीको वैधानिक व्यवस्था छ।

राजनीतिक वृत्तमा बस्नेतको ‘सरप्राइज’ छलाङ

४७ वर्षीय दिनेश बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर–७ का स्थायी बासिन्दा हुन्। राजनीतिसँगै होटल, व्यापार र व्यावसायिक कृषिमा जमेका बस्नेतले दोलखाको राजनीतिमा निकै छोटो समयमै बलियो जग बसाल्नुभएको हो।

केही समयअघिसम्म उहाँ नेकपा (एमाले) को जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो। एमालेबाट राजीनामा दिएको केही महिनामै उहाँ २०८१ जेठमा रास्वपाको जिल्ला तदर्थ समिति सभापति बन्नुभयो। दुई वर्षसम्म तदर्थ समितिको कमान्ड सम्हाल्नुभएका बस्नेतको कुशल व्यवस्थापनकै कारण गत २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट रास्वपाका उम्मेदवार जगदीश खरेलले भारी मतान्तरसहित सानदार जित निकाल्नुभएको थियो।

पार्टीलाई जिल्लामा स्थापित गराउन सफल भएकै कारण उहाँलाई यसपटक कार्यकर्ताले निर्विरोध नेतृत्व सुम्पिएका हुन्।

‘अब जनताले परिवर्तन महसुस गर्नेछन्’

दोस्रो कार्यकालका लागि चुनिएपछि बस्नेतले आफूमाथि कार्यकर्ताले राखेको विश्वासलाई मर्न नदिने बताउनुभयो।

“यसअघि म तदर्थ समितिको सभापति थिएँ, तर अहिले आम कार्यकर्ताकै भावना र मत बोकेर आएको छु,” नवनिर्वाचित सभापति बस्नेतले भन्नुभयो, “अब हाम्रो टिमले जिल्लामा संगठनलाई गाउँ-गाउँसम्म थप बलियो बनाउनेछ। हामी कुरा मात्र होइन, दोलखाका जनतालाई वास्तविक परिवर्तनको महसुस गराउने गरी काम गरेर देखाउनेछौँ।”