एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि नेपाल २-० को हार बेहोर्न पुग्यो ।

कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका थिए । नयाँ स्वरूपमा उत्रिएको नेपाल खेलको अधिकांश समय दबाबमा नै रहयो । पहिलो हाफमा गोलरक्षक दीपले पेनाल्टी जोगाएका थिए । तर दोस्रो हाफमा जोर्डनले गोल गर्दै सहज जित हासिल गर्यो ।
पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर डेब्यु गरिरहेका गोलरक्षक दीपले मुसा मोहमद सुलेमानको प्रहार बचाउ गर्दै नेपाललाई खेलमा कायम राखे । उनले आफ्नो बायाँतर्फ डाइभ दिँदै बललाई पोस्टको दिशा दिएका थिए । उक्त प्रहार दीपको हातमा लाग्दै पोस्टमा लागेर क्लियर भएको थियो ।
दोस्रो हाफको ६९ औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता लियो । अलि ओल्वानले सुन्दर फिनिस गर्दै जोर्डनलाई अघि बढाएका थिए । नेपालको डिफेन्स लाइन सुन्दर पासमा बिट भएपछि उनले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए ।
८२ औं मिनेटमा जोर्डनले खेलको दोस्रो पेनाल्टी पायो । सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि जोर्डनले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । हम्जा अल दार्दरले पेनाल्टी प्रहारमा गोलरक्षक दीपलाई विपरित दिशामा पठाउँदै अग्रता दोब्बर पारे ।
यसअघि समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २-१ ले स्तब्ध पारेको थियो । यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।