लिङ्देनको नेतृत्वमा राप्रपा कति लोकप्रिय, स्थानीय चुनावमा कति बढ्यो मत?


कृष्ण बुढाथोकी

साउन २४, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका विभिन्न सभाहरूमा पुगेर अबको चुनावबाट राप्रपा देशको पहिलो शक्ति बन्ने दाबी गरिरहेका छन्।

आगामी मंसिर ४ मा हुने चुनावबाट उनको राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भन्ने  यकिन छैन। राप्रपा पाँच वर्षअघि २०७४ मा भएको चुनावमा राष्ट्रिय पार्टी बनेको थिएन।

राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ १६५ मध्ये एउटा क्षेत्रमा चुनाव जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ। समानुपातिकतर्फ जति मत ल्याए पनि राष्ट्रिय पार्टी नबने समानुपातिक सांसद बनाउन मिल्दैन।

०७४ को चुनावमा तत्कालीन राप्रपा अध्यक्ष कमल थापा नै हारेका थिए। नेपाली कांग्रेससँग गठबन्धन गरे पनि थापा पराजित भएका थिए। पराजित भएपछि थापाले भनेका थिए- मेरो ग्रहदशा ठीक थिएन, त्यसैले चुनाव हारें।’

राप्रपाले त्यसबेला प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको थियो। समानुपातिकतर्फ भोट भने १ लाख ९६ हजार सात सय ८२ ल्याएको थियो। त्यसबेला राप्रपा एक थिएन।

पशुपतिशमशेर जबरा नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) पनि थियो। ०७४ मा यो पार्टीले ८८ हजार तीन सय ७७ मत ल्याएको थियो। पछि राप्रपा एक भयो। यी दुई राप्रपाले गरी दुई लाख ८५ हजार एक सय ५९ मत ल्याएका थिए।  

पहिलेको चुनावजस्तै यसपालि पनि राप्रपा फुटेको छ।

कमल थापा गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भए। त्यसपछि उनले राप्रपा नेपाल पार्टी गठन गरेका छन्।

थापाले राप्रपा परित्याग गरेसँगै राप्रपाको मुल भंगालो भने लिङ्देनले नेतृत्व गरिरहेकै पार्टीमा छ। अधिकांश नेता राप्रपामै छन्। ०७४ मा झापाबाट जितेका लिङ्देन अहिले राप्रपाका अध्यक्ष छन्।

लिङ्देन अध्यक्ष भएदेखि गत पुसबाट देश दौडाहमा छन्। अन्य पार्टीका नेता प्रवेश गराउनेदेखि संगठन विस्तारलाई प्राथमिकता दिइरहेका छन्।

गत वैशाख ३० मा भएको स्थानीय चुनावमा राप्रपाले त्यति धेरै प्रगति भने गर्न सकेन। ६ हजार ७ सय ४३ वडामध्ये राप्रपाले जम्मा ३ हजार ६३ वडामा अध्यक्ष उम्मेदवार उठाएको थियो।

यीमध्ये जम्मा ५३ वडामा अध्यक्ष जितेको छ। वडाध्यक्षले ल्याएको मत हेर्दा राप्रपाले यो स्थानीय चुनावमा ३ लाख ६५ हजार ८ सय ५९ मत ल्याएको देखिन्छ।

स्थानीय तहमा भन्दा मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि करिब ५ लाख मतदाता थपिएका छन्। अहिले मतदाता १ करोड ८१ लाख हाराहारी पुगेका छन्।

मंसिरमा हुने चुनावमा सत्ता गठबन्धनका पाँच दल मोर्चा बनाएर जाने भएका छन्। राप्रपाले सत्ता वा नेकपा एमालेले नेतृत्व गर्ने कुन गठबन्धन समात्छ यकिन भइसकेको छैन।

स्थानीय चुनावमा राप्रपाले स्थानीय परिस्थिति हेरेर पार्टीका उम्मेदवार जित्न फाइदा पुग्ने गरी कांग्रेस वा एमालेसँग गठबन्धन गरेको थियो।

हिजोआज राप्रपा अध्यक्ष लिङ्देनले सत्ता गठबन्धनको आलोचना गरिरहेकाले उनी एमालेसँग गठबन्धन गर्ने मनस्थितिमा रहेको देखिन्छ।

‘गठबन्धन गरेर चुनावमा जाने सत्ता गठबन्धनलाई यसपालि चुनावबाट शान्तिपूर्ण ढंगले बिदा गर्ने हो। यिनीहरूलाई अब दोहोर्‍याउने वा मौका दिनु भनेको स्याबास् अझै लुट भनेर लाइसेन्स दिनु हो,’ लिङ्देनले पार्टीले गरेका सभाहरूमा भन्छन्, ‘यो मुर्खता जनताले गर्न हुन्न। केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई कति कार्यकाल जिताएपछि देश बन्छ?’

लिङ्देनले यसपालि जनताले विकल्प खोजेको र विकल्पमा राप्रपा रहेको बताइरहेका छन्।

उक्त पार्टीका प्रवक्ता मोहन श्रेष्ठ पनि मतदाताले वैकल्पिक शक्ति खोजिरहेकाले राप्रपालाई भोट दिने स्थिति रहेको दाबी गर्छन्।

‘राप्रपाले नेतृत्व परिवर्तन गरेसँगै देशैभरि नयाँ आशा देखियो। पार्टीमा युवाको आकर्षण छ। संगठन सुदृढीकरण र परिचालन पहिलेभन्दा राम्रोसँग व्यवस्थित रूपमा गरिएको छ,’ श्रेष्ठले भने, ‘जनताले पनि अहिलेका ठूला दलको विकल्प खोजिरहेका छन्। भरपर्दो वैकल्पिक शक्ति राप्रपा नै देखिएको छ।’

अबको चुनावबाट राप्रपा राष्ट्रिय पार्टी मात्र बन्ने नभई ठूला भनिएका दलको हाराहारीमै सिट जित्ने उनी दाबी गर्छन्।

‘हामीले १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ र प्रदेश सभामा पनि सबै क्षेत्रमा उम्मेदवार उठाउँछौं,’ उनले भने, ‘राष्ट्रिय पार्टी त हुन्छौं, हुन्छौं। अरू दल हाराहारीकै सिट आउँछ।’

उनले चुनावमा गठबन्धन गरेर जान हुन्न भन्ने पक्षमा राप्रपा रहे पनि ठूला दलले गठबन्धन गरेको हुनाले गठबन्धन गरेर जाने पक्षमा राप्रपा रहेको बताए। युवाहरूमा राप्रपाप्रति आशा, विश्वास र भरोसा बढेकोले समानुपातिकतर्फ पनि भोट वृद्धि हुने श्रेष्ठ बताउँछन्।

उनले लामो समय पार्टीको नेतृत्वमा रहेका व्यक्तिलाई पनि विस्थापित गर्न सकिन्छ भन्ने राप्रपाको महाधिवेशनले सन्देश दिएको र त्यहीअनुसार स्थानीय तहमा युवाहरूले जितेको पनि दाबी गरेका छन्।

‘राजनीतिप्रति युवाको सक्रियता बढ्नु र आकर्षण हुनुमा राप्रपाको नेतृत्व परिवर्तन पनि थियो। त्यो हुनाले पनि हाम्रो पार्टीमा युवाको भोट आउने देखिन्छ,’ उनले भने, ‘जनताले मतका लागि मन परिवर्तन गर्ने अवस्था बनेको छ।’

उनले २०६२/६३ सालको राजनीतिक परिवर्तनमा कांग्रेस, एमालेलगायत दलले बाँडेका सपना पूरा हुन नसक्दा ती दललाई यसपालि जनताले मत नदिने बताए।

‘जनताले खोजेको प्रजातान्त्रिक शक्ति राप्रपाबाहेक तत्काल अर्को उभिने सम्भावना देखिँदैन,’ उनले भने, ‘कांग्रेस-एमालेका नेता टेष्ट भइसके, राप्रपाको मात्रै बाँकी छ। एकपटक लिङ्देनलाई हेरौं भन्ने जनताको चाहना छ।’

उनले राप्रपाले लिएको सिद्धान्त पनि अरू दलभन्दा फरक रहेकोले जनताले साथ दिने दाबी गरे। राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव अघि सारेको थियो।

‘जनताले देशको नेतृत्वमा विकल्प खोजेका बेला मार्गचित्रले पनि विकल्प खोज्छ। हामी अरू दलभन्दा फरक विचारमा हिँडेका छौं,’ उनले भने।

सम्बन्धित खबर