मंगलबार, १६ असोज २०८०, दोलखा। राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ९ देखि ११ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ।

मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेश स्तरीय विरोध प्रदर्शन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

यस्तै कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसँग परामर्श गरी अध्यक्षले टुंगो लगाउने निर्णय भएको श्रेष्ठले बताए।

यस्तै पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु राजु र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय पनि भएको छ।

यसबाहेक महामन्त्री डा धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलनसम्बन्धी कार्ययोजनालाई अन्तिमरूप दिन वरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्रीद्वय डा धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको छ।