वसन्तपुरमा मनाइयो ज्यापु दिवस


कृष्ण बुढाथोकी

मंसिर २२

नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ।

ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्।

आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधवार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ।

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भन्ने गरिन्छ । यःमरी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गर्दछन्।

ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमासमेत मनाउने गर्दछन् । ज्यापु दिवसको अवसरमा वसन्तपुरमा निकालिएको  र्‍यालीमा सहभागी हुँदै काठमाडौं महानगरपाकिलाका पूर्व मेयर विद्यासुन्दर शाक्यले १९ औं राष्ट्रिय ज्यापु दिवसमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको बताए।

उनले नेपालका किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलनअनुसार सरकारले आजको दिनलाई राष्ट्रिय ज्यापु दिवसका रुपमा मनाउने गरेको समेत बताए। उनले आफ्नो कार्यकालमा महानगरपालिकाले काठमाडौं भित्र रहेका मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोड्ने अभियान शुरु गरेको र अहिले पनि सांस्कृतिक महत्वका कार्यक्रमहरुले स्थान बढी पाइरहेको बताए।

आज राष्ट्रिय ज्यापु दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

सम्बन्धित खबर