१४ बैशाख २०८०,
दोलखा । विगत लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले आखिरमा दर्ता पाउने भएको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो । साथै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता प्रक्रियामा जान पाउने भएका छन् । यस्तो दर्ता नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र एलसी नचाहिने व्यवस्था गरिएको विभागले बताएको छ ।
नेपालको कानुनी नियम अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६०ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य रहेको थियो । जसले नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन । यस विषयलाई लिएर विभिन्न मिडिया र हाम्रो अनलाईन बुलेटिनले निरन्तर यस विषयलाई महत्वपूर्णका साथ उठान गरेसँगै पहिलोपटक नेपालमा नै उत्पादित सवारी साधनहरुले नम्बर प्लेट पाउन सफल भएको हो ।
