२०८० जेष्ठ ०९, मंगलबार
दोलखा । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको काठमाडौँमा भव्य स्वागत गरिएको छ । बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले अभिनन्दन गरेका छन् ।
वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।
कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयास पछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।
बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनु अघि सगरमाथा आरोहण गर्ने उनको सपना रहेको थियो । सगरमाथाको चुचुरोमा पुगे सगै बुढामगरले खुसीका साथ जोडले चिच्याउँदै भनेका थिए, “हामी सफल भयौँ ।” हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस एसएएसको माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफू जस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण गर्नु सवैका लागि महत्त्वपूर्ण रहेको बताए ।
सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यस अघि मोन्ट ब्लाङ्क चार हजार आठ सय १० मिटर, चुलु सुदूरपूर्व छ हजार ५९ मिटर, किलिमन्जारो पाँच हजार आठ ९५ मिटर र मेरापिक छ हजार चार सय ७६ मिटर लगायतका आरोहण गरेका थिए । सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ डाइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा रहेको छ ।
