२०८० जेष्ठ ०९, मंगलबार
दोलखा । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा जारी आर्थिक वर्ष २०८०–८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई चुस्त दुरुस्तका साथ बढाएको, कृषिलाई प्राथमिकता दिइ उत्पादनलाई बढाउने सम्भावना रहेको जानकारी दिए ।
उनले पर्यटनको विकास र जनताका आकाङ्क्षालाई सम्बोधनका लागि नीति तथा कार्यक्रमले बाटो खोलेकाले आपसी छेडछाड नगरी कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने भनाई व्यक्त गरे । उनले जनताको सङ्घर्ष र बलिदानबाट आएको सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने सोच नीति कार्यक्रममा रहेको र समाजवादको आधार निर्माण गर्ने आधार सिर्जना गरेको जानकारी दिए ।
