२०८० जेष्ठ ११, बिहिबार
दोलखा । काठमाडौँ, ललितपुर र भक्तपुरका नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदै छन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत लिइएको पाइन्छ ।

नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन चल्दै आएको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध मान्निछ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व, आजको दिन घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी बनाई खाने गरिन्छ ।

सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाइ गर्ने गर्दछन् ।

वर्षातको बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यसको विशेष उद्देश्य हो । हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

यस चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः धान रोपाइँ सुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रूपमा लिने गरिन्छ ।