२०८० जेष्ठ २१, आइतबार
दोलखा । स्रोतका अनाुसार कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम अवस्थामा पुगेको जानकारी हुन आएको छ । आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको र आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौ देखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन प्रसारण लाइन निर्माण तर्फका सबै काम अन्तिम अन्तिम अबस्थामा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनु भएको हो ।

उनका अनुसार ढिलोमा पनि आगामी मङ्सिर भित्रमा आयोजना सम्पन्न गरेर व्यावसायिक रुपमा विद्युत् उत्पादन हुने साथै स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले जानकारी दिएका छन ।

“जलविद्युत्मा २५ मेगावाट सानो परियोजना होइन, उनले भने। धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शी रुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशादायी छौँ ।”

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइप मार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइप मार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित पनि छ ।

कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए । आयोजनाको म्याद विसं २०८१ साउनसम्म रहेको छ । उनले भने, “कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो । स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ । अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ ।”

यस सेती जलविद्युत् आयोजनामा रु. पाँच अर्ब लगानी रहेको थियो । यसमा रु. तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाको इच्छा रहेको छ ।

यस आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको जानकारी दिए। त्यसैगरी पाइपलाइन तर्फ एक सय ५० मिटर जति मात्र काम बाँकी रहेको । “पावर हाउसको सिभिलको काम सकिएको । स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन अझै बाँकी रहेको छ”, घिमिरेले भने, “सबै क्षेत्रतर्फ गर्नु पर्ने मुख्य काम सकि सकेको छ । केही सानातिना काम पूरा गर्नु पर्नेछ ।”

सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिने साथै यसलाई दुतगतिमा अघि बढाइ विद्युत्गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेको भनाई छ ।

आयोजनाको सञ्चालक समेत रहेका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको र आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ ।