सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको करको दरमाथि पर्यटन व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले सरकार समक्ष नयाँ प्रस्ताव समेत गरेका छन्।

जसमा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ/संगठन सम्मिलित विज्ञ समूह/समिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरू १ वर्षपछि मात्र लागु हुने गरी व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघ (आयोन)सहित एक दर्जन संघ संस्थाले संयुक्त रूपमा सरकार समक्ष यस्तो प्रस्ताव राखेका हुन्।

कोभिड महामारीबाट भर्खरै लयमा फर्कदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै व्यवसायीले यस्तो प्रस्ताव गरेका हुन्।

बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने भन्दै सरकारले यस तर्फ ध्यान दिनुपर्ने समेत बताए।

सरकारले आगामी आवबाट ट्रेकिङ तथा टूर प्याकेज सम्बन्धी सेवा र हवाई टिकटलाई भ्याट लगाउने सूचीमा राखेको छ।

पाँच तारे र सो भन्दा माथिका तारे होटेल तथा लक्जरी रिर्सोटले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शूल्क घोषणा गरेको छ।

विदेशमा पर्यटन भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशत वैदेशिक पर्यटन शूल्कको घोषणा गरिएको छ। यसबाट नेपालको टूर प्याकेज महंगो हुने र नेपाल आउने पर्यटक छिमेकी मुलुक र उस्तै अनुभव भएका अन्य गन्तव्यमा जाने चिन्ता व्यवसायीको छ।

हवाई टिकट विदेशबाट काट्ने सम्भावना

सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनी समेत व्यवसायीले दिएका छन्। भ्याट लगाउँदा विदेशी पर्यटकको टूर प्याकेज महंगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन्।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टूर तथा सफारी प्याकेज कम्तिमा १ वर्ष अगाडीबाटै बुकिङ गरी सोअनुसारको मूल्य राखिने गरेको भन्दै नयाँ थप भएका कर र शुल्कले व्यवसायी मारमा पर्ने उनीहरुको भनाइ छ। व्यवसायीले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेश जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरिएको छ।

पर्यटन व्यवसायीले माफ्नो माग पुरा नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन्। आफूहरुको माग सरकारका विभिन्न निकायमा बुझाएको भन्दै व्यवसायीले माग सम्बोधन नभए दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

पर्यटन व्यवसाय कुनै पनि वस्तु आयात नगरी दृष्य देखाएको भरमा सञ्चालन हुन सक्ने भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिनु पर्ने टानका अध्यक्ष निलहरी बास्तोलाले बताए।