सोमबार, २५ भदौ २०८०, दोलखा। दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरको भेटी व्यवस्थापनका लागि ३८ लाखमा ठेक्का सम्झौता भएको छ।

स्थानीय अक्कल बहादुर तामाङले कालिञ्चोक भगवती मन्दिरको भेटि व्यवस्थापन गर्न चालु आर्थिक वर्ष ३८ लाख १ हजार ६ सय ६६ रुपैँया ६७ पैसामा ठेक्का लिएका हुन्। भेटि व्यवस्थापनका लागि १५ दिनको सार्वजनिक सुचना जारी गरिएकोमा सात वटा आवेदन परेको थियो। त्यसमध्ये तामाङलाई छनोट गरिएको हो। गत आर्थिक वर्ष २०७९–८० मा स्थानीय सुकमान तमाङले १८ लाख ६० हजारमा ठेक्का पाएका थिए भने आर्थिक वर्ष २०७८–७९ मा नवराज पाख्रिनले ८ लाख १ सय रुपैँयामा भेटि व्यवस्थापन गर्न ठेक्का लिएका थिए। कालिञ्चोक मन्दिरमा भेटि मार्फत संकलन भएको ३० लाख रकम नविल बैंकमा फिक्स डिपोजिटमा राखिएको छ। मन्दिरबाट संकलन भएको भेटि तत्काल मन्दिर व्यवस्थापनमा खर्च नभएकाले फिक्स डिपोजिटमा राखिएको हो। कालिञ्चोक–त्रिपुरा सुन्दरी–भीमेश्वर गुठीको नाममा नविल बैंकमा खाता खोली सो रकम सुरक्षित राखिएको दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए।

उनका अनुसार सिडिओ र मालपोत कार्यालयका प्रमुखको संयुक्त हस्ताक्षरमा चेक चल्ने गरी रकम फिक्स डिपोजिटमा राखिएको छ। मन्दिर व्यवस्थापनका लागि भेटि वापत संकलन भएको रकम खर्च गर्ने भनिए पनि तत्काल खर्च नहुने देखिएपछि बैंकमा राखिएको प्रजिअ धमलाको भनाई छ। मन्दिरको भेटी मन्दिरकै पूर्वाधार निर्माण, सम्वद्र्धन र प्रवर्धन गर्न ठेक्का लगाएर कोष खडा गरि सुरक्षित राखिएको प्रजिअ धमलाले बताए। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कालिञ्चोक मन्दिरमा भएका घण्टी र त्रिशुल पनि व्यवस्थापन गर्ने तयारी गरिएको छ। सरोकारवालाहरुको बैठकले मन्दिर भएको टाकुरालाई बढी लोड हुने गरी राखिएका घण्टी र त्रिशुल अन्यन्त्र लगेर व्यवस्थापन गर्ने निर्णय गरेको हो।

सो काम तत्काल सुरु हुने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। यस्तै, मन्दिर वरिपरि जथाभावी निर्माण गरिएका घरटहरा हटाउन पनि प्रशासन कार्यालयले आग्रह गरेको छ। मन्दिर वरिपरि घरटहरा बनाएर जथाभावि व्यापार व्यवसाय राख्दा सौन्दर्यता विग्रन थालेको भन्दै प्रशासन कार्यालयले तत्काल हटाउन निर्देशन दिएको हो। प्राकृति सौन्दर्यताले भरिपूर्ण कालिञ्चोकमा पछिल्लो समय जथाभावि घरटहरा बनाइएपछि सो क्षेत्र कुरुप बन्दै गएको छ।