
अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएको प्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, नेपाली किसान लगायत कृषकहरूसँगको सामूहिक भेटका क्रममा उलने यस्तो बताएका हुन्।
अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए। ‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो। कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो’, उनले भने।
करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउने उनले बताए। स्थानीय उत्पादनलाई महँगो बनाउँदैन। सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने गर्छन्।
अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ। त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढौं । त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ। उत्पादनकर्ता पनि उत्साहित हुन्छन्। पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन। उत्पादनमा नै अनुदान दिने हो। त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ। त्यसकारण उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ रहेको उनको भनाइ छ।
