नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ।

असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँ बजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना हुन लागेको हो।

नेपाल कफी व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा संचालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्मेलन गर्न लागेको हो।

महासंघका अध्यक्ष ओम अधिकारीले स्वदेशी कफी खेती प्रवर्द्धनका लागि सम्मेलन गर्न लागिएको बताए। नेपालमा कुल १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि केवल ३३०० हेक्टरको हाराहारीमामात्र खेती हुने गरेको छ।

सम्मेलनमा कफी उत्पादकहरु, उपकरण निर्माताहरु र निर्यातकर्ताहरु रहनेछन्। नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन हुने गरेको छ भने खपत २१०० टन हुन्छ।