पछिल्लो समय हवाइ यात्रा गर्ने यात्रुको संख्या बढ्दै गएको छ। कोभिडपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाइ यात्रु बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार पछिल्लो पाँच महिनामा ३४ लाख यात्रुले हवाइ यात्रा गरेका छन्। अन्तर्राष्ट्रिय र आन्तरिक दुबैतर्फ गरी ३४ लाख ७४ हजार चार सय ४० जना यात्रुले हवाइ यात्रा गरेका हुन्।

विमानस्थल कार्यालयको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि मेसम्ममा १८ लाख ४३ हजार चार सय ९० जना अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेका छन्।

यसमध्ये आठ लाख ४६ हजार २०७ जना यात्रु नेपाल भित्रिएका छन्। त्यस्तै नौ लाख ९७ हजार दुई सय ८३ जना यात्रु बाहिरिएका छन्।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार यस अवधिमा १२ हजार सात सय ६६ वटा अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलबाट भएका छन्। यी उडानमध्ये ६ हजार दुई ८२ उडान नेपालबाट विदेशका लागि उडेका छन् भने छ हजार तीन ८४ वटा उडान नेपाल भित्रिएका छन्।

आन्तरिकतर्फ १६ लाख ३० हजार नौ सय ५० जनाले यात्रा गरेका छन्।

यीमध्ये आठ लाख १९ हजार छ सय ४३ यात्रु भित्रिएका छन्। त्यस्तै ८ लाख ११ हजार तीन सय सात यात्रु बाहिरिएका छन्।

यी उडानमध्ये २० हजार एक सय ७५ उडान त्रिभुवन विमानस्थलबाट बाहिरिएका छन् भने २० हजार एक सय ६१ उडान उक्त विमानस्थल भित्रिएका छन्।