
नेप्से परिसूचक लगातार बढ्ने क्रम जारी रहेको छ। साताको पहिलो दिन आइतबार परिसूचक बढिरहँदा कारोबार रकममा पनि सुधार आएको छ।
पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेको छ। यस दिन नेप्से २.५६ प्रतिशतले बढेर २०९४.३३ बिन्दुमा पुगेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ पुगेको छ।
यस दिन २८० वटा धितोपत्रको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो।
आइतबार छ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस दिन नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेञ्चर्स, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेन्छियाम हाइड्रोपावर सेयरमूल्य १० प्रतिशतका दरले बढेको हो।
