मंगलबार, १२ असार २०८०
दोलखा । काठमाडौँ महानगर भित्र रहेको राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातनापीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा आयोगले यातना सम्बन्धी उजुरीहरुमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही तथा पीडकबाट क्षतिपूर्ति भराउने जस्ता सिफारिस सरकारलाई गरेको उल्लेख गर्दै पेश गरिएको सिफारिस कार्यान्वयनमा जोड दिन स्मरण गराएको छ ।
यातना सम्बन्धी उजुरीहरुमा करिब दुई सय वटाको आयोगले सिफारिस गर्दै पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न र पेश गरिएका सिफारिसको कार्यान्वयनको सन्दर्भमा केहीमा पीडितहरुलाई क्षतिपूर्ति दिलाउने बाहेक पीडकलाई कारबाही गर्ने कार्यहरु अत्यन्त न्यून देखिएकाले आयोगको सिफारिस कार्यान्वयनमा जोड दिन सरकारलाई यस अवसरमा आयोग पुनः स्मरण गराएको छ ।
यसैगरी, हाल आयोगमा यातनासम्बन्धी तीन सय ५८ वटा उजुरीहरु विचाराधीन अवस्थामा रहेको र “स्थापनादेखि नै यातना दिइने कार्यको विरुद्ध अनुगमन तथा अनुसन्धान गर्दै, नेपालमा विगतको सशस्त्र द्वन्द्वको समयमा पक्राउ गरी मानसिक तथा शारीरिक यातना दिइएका घटनाहरुको विषयमा उजुरी दर्ता गर्ने र ती घटनाहरुमा आयोगले अनुगमन तथा अनुसन्धान गरी सरकार समक्ष सिफारिस गर्दै आएको छ,” विज्ञप्तिमा उल्लेखित गरिएको छ ।
आयोगले कसैले पनि कुनै पनि व्यक्तिलाई कुनै पनि बहानामा यातना दिने कार्य कानुन विपरीत भएको जनाउँदै व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन समेत भनेको छ ।
© 2025, Online Bulletin