आगामी वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गरेको आगामी वर्षको बजेट बुधबार बहुमतले पारित भएको हो।

बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ। बजेटको पक्षमा सत्तापक्षका सबै सांसदले मतदान गरेका छन् भने विपक्षमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मतदान गरेका छन्।

यसअघि सत्तापक्षका सांसद मूलत: नेकपा एकीकृत समाजवादीका सांसदले नै बिनासंशोधन बजेट पास गर्न नदिने बताउँदै आएका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज बिहान भएको छलफलपछि बजेटका पक्षमा मत हाल्न उनीहरु तयार भएका थिए।

त्यसलगत्तै सत्तापक्षीय दलहरुले बजेटका पक्षमा मत हाल्न ह्विप नै जारी गरेका थिए। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए।

बजेटमा करका दर बढाएको, सांसद विकास कोष ब्युँताएको, प्रधानमन्त्री दाहाल, शेरबहादुर देउवालगायत पहुँचवालाहरुका जिल्लामा ठूलो मात्रामा बजेट विनियोजन गरिएको जस्ता विषयमा सत्तापक्षकै सांसदले चर्को असन्तुष्टि जनाएका थिए।

जेठ १५ गते अर्थमन्त्री महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए।

स्रोत व्यवस्थापन मुस्किल भएपछि सरकारले चालू आवमा भन्दा आकार घटाएर बजेट ल्याएको छ। आगामी वर्ष तलबभत्ता, अनुदानलगायतमा हुने चालू खर्चका लागि ११ खर्ब ४१ अर्ब ७८ करोड बजेट छुट्याइएको छ, यो कुल बजेटको ६५.२ प्रतिशत हो।

त्यस्तै पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ, जुन कुल बजेटको १७.२५ प्रतिशत हो। वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याइएको छ।

आगामी आर्थिक वर्षमा १२ खर्ब ४८ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ भने वैदेशिक सहायताबाट ४९ अर्ब ९४ करोड प्राप्त गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब उठाउने लक्ष्य राखिएको छ।