शुक्रबार, २२ असार २०८०
दोलखा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आज शुक्रवार बिदाई भेट गरेका छन् । राजदूत हेलले सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्य कक्षमा शुक्रवार गरेको बिदाइ भेटमा नेपाल र कतार बीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारे खुशि व्यक्त भएको छ । अध्यक्ष तिमिल्सिनाले ठुलो सङ्ख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदान प्रति सन्तुष्टि व्यक्त गरेका थिए । भेटमा राजदूत हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै बढी भन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा गम्भीर रहेको जानकारी दिए ।
उनले पोखरा लगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरूमा ५–६ पटक सम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो समेत गरेका थिए ।
