शानिबार, २३ असार २०८०
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गत तामाकोशी नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्ने विभिन्न सवारी साधनलाई गाउँपालिकाले नियन्त्रणमा लिएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत ढोलिखोला स्थित तामाकोशी नदी किनारमा रोडा, ढुङ्गा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन र चोरी निकाशीमा संलग्न रहे्को अवस्थामा गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी नेतृत्वको टोलीले ३ ओटा टिपर, एउटा स्काभेटर र एउटा ब्याक हो लोडर नियन्त्रणमा लिएको हो । साथै गाउँपालिकाले नियन्त्रणमा लिइएका सवारी साधन र तीनका सञ्चालकलाई आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्राचार समेत गरे्को छ । नियन्त्रणमा लिइएका सवारी साधन हाल किर्ने स्थित प्रहरी चौकीमा राखिएको तामाकोशी ५ का वडाअध्यक्ष शम्भु फुँयालले जानकारी दिए ।
तामाकोशी गाउँपालिकाको ढोलीखोला स्थित तामाकोशी नदीबाट सङ्कलन हुने नदीजन्य पदार्थको ठेक्का अवधी समाप्त भइसकेको अवस्थामा समेत तत्कालिन बोलपत्रवाला कम्पनी उडहिल कन्ट्रक्सन प्रालिले गैरकानूनी तवरले चोरी निकासी जारी राखेको भन्दै गाउँपालिकाले यस अघि पनि प्रहरीलाई आवश्यक कारबाहीका लागि पत्र लेखेको थियो । यद्यपी नदी उत्खनन् नरोकिए पछि गाउँपालिका अध्यक्ष केसी आफै साथमा केही वडा अध्यक्ष र जनप्रतिनिधि सहित फिल्डमा पुगेका थिए ।
