आहा! काठमाडौं सहर..


सिर्जना बस्नेत

सुन्दै छु,
फुल नै फुलको शहर बनाउँदै छौ रे
पक्की सडक अनि नहर बनाउँदै छौ रे
उराठ लाग्दो र कोलाहलमय सहर
हरियाली र सुन्दर बनाउँदै छौ रे।

साघुँरा गल्ली अनि कुना काप्चाका बाटाहरू
फराकिला र खुला भएका छन् रे
पानी जम्ने खाल्डा खुल्डीहरू
बालुवा र गिटीले पुरियो रे।

फुटपाथ व्यवसायीलाई हटायौँ रे
मापदण्ड मिचर बसेका घरहरू भत्कायौं रे
सुकुम्बासी बस्ती पनि हटायौ रे।

देश निर्माणको अभियानमा हातोमालो गर्दै
तिम्रो सहर अघि बढ्दै छ रे
देशकै निम्ती मर्छु भन्ने प्रणमा छौ रे।

सहर शिक्षामा अब्बल बन्दै छ रे
सरकारी विद्यालयलाई पनि निजी सरह बनायौ रे
मनलागी शुल्क लिने कलेजलाई
राम्रै सबक सिकायौ रे।

सबैतिर तिम्रै वाह वाह
तिमीजस्तै नेता चाहियो रे
सबै जनताको प्यारो तिमी
देशले फेरी नयाँ राजा पायो रे।

नक्सा बिनाका भवनहरू हटायौ रे
असहाय र अपाङ्गको उपचारको खर्च घटायौ रे
आगलागी हुने तारका गुजुल्टाहरु
ठगेर औषधी बेच्ने मेडिकलहरु
सधैँको लागी हटायौ रे।

तिम्रा विरोधिहरू तिम्रा योजना असफल पार्न
दिनरात नभनी लागेका छन रे
थोरै पनि नडगमगाउनु तिमी
सारा जनता तिम्रै पक्षमा छन रे।

देशकै सार्वभौमिक्ताको लागि आवाज उठाउँदा
आफ्नै देशको कानुन तिम्रो विरोधमा रहेछ
तर थोरै पनि नडगमगाउनु है तिमी
सारा जनता तिम्रै पक्षमा छन रे।

सम्बन्धित खबर