त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन्।
राजश्व अनुसन्धान विभागका अनुसार सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिनेछ।
विभागले बरामद भएको सुन जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ। सुन हङङबाट आएको खुले पनि तस्करमा संलग्ग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र खुल्ने छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना बुधबार राति नै पक्राउ परेका छन्।
विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बुधबार साँझ बरामद गरिएको थियो। नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ।
यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए। सुन तस्करी प्रकरणमा नाम चलेका र ठूलै घरना संलग्न रहेको विभागले अनुमान गरेको छ।
केही ठूला व्यक्तिहरुमाथि आशंका पनि गरिएको छ।
उता, भन्सार विभागले त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट कसरी जाँच पास भयो भन्दै यसमा संलग्न कर्मचारीहरुमाथि पनि अनुसन्धान गरिरहेको छ। एक अर्ब रुपैयाँभन्दा बढीको सुन जाँच पास गरेर छाडिएको विषयमा अनुसन्धान गरी यसमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी गरिएको बताइएको छ। सुन तस्करीमा संलग्न व्यक्ति र कर्मचारीहरुसँगको सोधपुछपछि अनुसन्धान एउटा निष्कर्षमा पुग्ने देखिएको छ।
