संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ र”पमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको हस्तान्तरण र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।

उनले स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयले विभिन्न क्षेत्रमा छ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने उनको भनाइ छ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न किसिमका भेदभाव र विकृतिहरूलाई समाप्त पार्दै काम गर्ने मान्छेलाई वातावरण दिनुपर्छ भन्ने मान्यताका साथ मन्त्रालय अघि बढेको जानकारी दिए।

स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको योग्यता क्षमता वृद्धिका लागी अन्तर्राष्ट्रिय स्तरमा तालिमहरु दिने काम भइरहेको भन्दै त्यस्ता तालिममा हुम्लामा बसेर काम गर्ने कर्मचारीले पनि सहभागी भई विदेश भ्रमण गर्न पाउने जस्ता अवसरहरु मन्त्रालयले प्रदान गरि रहेको बताए।

उनका अनुसार काम गर्नेलाई पुरस्कार र काम नगर्नेलाई दण्ड हुनुपर्ने मान्यताका साथ मन्त्रालयले मूल्यांकन गरिरहेको छ।

मन्त्री बस्नेतले जनसंख्याको हिसाबले बढी जनसंख्या भएको प्रदेश मधेश प्रदेश रहेको कारण एउटा प्रदेशमा एउटा विशेषज्ञ सेवा हुनुपर्ने बताए।

जनकपुरधाममा मुटु रोगको सेवा प्रभावकारी बनाउने विषयमा प्रक्रिया अघि बढाइने र यसले मुटु रोगका विरामीलाई काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री बस्नेतको भनाइ थियो।

‘प्रदेशको कुनै पनि ठाउँमा कुनै किसिमको आपत विपत आएमा अब आपतकालीन कार्य संचालन केन्द्रले विभिन्न निकायसँग समन्वय गरी तत्कालै समस्या समाधान गर्नमा मद्दत पुर्‍याउनेछ,’ उनले भने।