आइतबार, ३१ भदौ २०८०, दोलखा। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ।
भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेली बेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ।
तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ। दर खाएसँगै औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीको पूजासँग समापन हुने गर्दछ। तृतीयाका दिन हरितालिका ब्रत, चौँथीका दिन गणेशको पूजा हुने गर्दछ।
तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ।
पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक(भडक मौलाउँदै गएको छ। विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन्।