रामेछापको दोरम्बा पहिरोमा मृत्यु भएका ५ जनाको परिवारलाई सरकारको राहत, दुई अझै वेपत्ता


कृष्ण बुढाथोकी

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखखर्कमा गएको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई संघीय र प्रदेश सरकारबाट राहत प्रदान गरिएको छ। पहिरोमा परेका पुडकी पहरी, सन्दिप पहरी, सन्तोष पहरी, चण्डिका थापा मगर, र आमोष श्रेष्ठको परिवारलाई संघीय सरकारबाट प्रति मृतक दुई लाख र प्रदेश सरकारबाट प्रति मृतक एक लाखका दरले राहत दिइएको हो।

तर, एकाघरमा एक भन्दा बढी मृत्यु भएको अवस्थामा प्रति मृतक डेढ लाख दिने व्यवस्था अनुसार, चण्डिका थापा र आमोष श्रेष्ठको परिवारलाई सोही दरले राहत प्रदान गरिएको छ। बाँकी मृतकको परिवारलाई राहत वितरणको लागि कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

भदौ ९ गते बिहानै गएको पहिरोले ११ जना वेपत्ता बनाएको थियो, जसमा ७ जनाको शव फेला परेको र एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। दुई व्यक्ति अझै वेपत्ता छन्, भने पहिरोमा हराएकी विन्दा पहरीको खुट्टाको केही भाग फेला परेको छ, जसको पहिचान डिएनए परीक्षणबाट गर्ने तयारी भइरहेको छ।

सम्बन्धित खबर