मंगलबार, १६ साउन २०८०, दोलखा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ।
आज मंगलबार सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका नेताहरुबीच संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलमा एमालेले सो अडान कायमै राखेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने एमालेको अडान छ। गत हप्ता बुधबार पनि यी मागहरु राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो। प्रतिनिधि सभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुलाई आग्रह गरे पनि नेताहरु बीच सहमति जुट्न सकेको छैन।
साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो। यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन्।