आइतबार, १० भदौ २०८०, दोलखा । नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन्। सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिए।
सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो। तर, आइतबार सुनुवाइ हुन सकेन। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइने भन्दै पन्छाइएको थियो।
उनको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो। एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदै छ। उक्त खेल पाकिस्तानको मुल्तानमा हुनेछ।
त्यसको चार दिनपछि नेपालले भारतसँग दोस्रो खेल खेल्नेछ। मुद्दाको पेशी भदौ २१ गते तोकिएकाले त्यसअगावै सन्दीप काठमाडौँ फर्कने जानकारी पनि कानुन व्यवसायी घिमिरेले दिए। सन्दीप सोमबार एसिया कप खेल्न पाकिस्तान जानेछन्, उनले भने । सन्दीप विरुद्ध नाबालिग बलात्कारको आरोपमा मुद्दा दायर भएको हो।
