सोमबार, २२ साउन २०८०, दोलखा । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। भरतपुर महानगरपालिकाले हिजो आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो। हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। आँखा पाक्ने रोग (एडिनो भाइरस)को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ।
यस्तै आँखा पाक्ने समस्या बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन्। रत्ननगरले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि साउन २४ गतेसम्म पालिका भित्रका कक्षा १२ सम्म सञ्चालन भएका संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको हो। साथै बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेती करण गर्न समेत अनुरोध गरेको छ ।
