वर्षा..


सिर्जना बस्नेत

जब हरेक मनसुन सुरू हुन्छ
सुकेका डाँडाहरु पनि हरियाली हुनेछन्
सल्ला, धुपी र पिपलुका हाँगाहरूले पालुवा फेर्नेछन्
गृष्म ॠतुको आगमनसँगै नदी, ताल र खोलाहरू सुसाउनेछन्।

गाईको गौचारन होस या केटाकेटी खेल्ने चउर
ढाक्नेछन् अनेक बुकी फुल र दुबोहरूले
चर्को घामपछि छिट्याउने पानीले रूझाँउदा
आफ्नै घर र गोठ खोज्नेछन् ती भेडा र गाईका बथानहरूले।

सबैलाई आआफ्नै हतार छ यो बेला
किसानलाई खेती लगाउन हतार
पानीका थोपाहरूलाई माटोसँग मिसिन हतार
घामलाई कुना काप्चामा किरण पुर्‍याउन हतार
खोलालाई भल बाढीको बहाव बनाउन हतार।

हरियाली वातावरणको प्यास मेटाउनु छ
किसानहरूको मानाको अन्न मुरीमा फलाउनु छ
पहिरोले घरहरू पुरिए पनि
जमिनलाई सिंचाई योग्य बनाउन छ।

सम्बन्धित खबर