सफल हुन छ भने किताब पढ्नुहोस् !


अनलाईन बुलेटिन संवाददाता

एउटा सुविख्यात भनाइ छ- रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन्।

भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ। यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा लागू भएको देखिन्छ।

त्यसबेला ओगमोन नामक एउटा गाउँमा एक जना अवकाशप्राप्त न्यायाधीश बस्थे। अब्राहम लिङ्कनले उक्त न्यायाधीशको घरेलु नोकर हुन तयार भए।

‘तिमीलाई तलव कति चाहिन्छ, बाबु ?’ न्यायाधीशले सोधे।

महाशय, मलाई एक पैसा चाहिँदैन, बरू हजुरसँग भएका सबै पुस्तक पढ्ने अनुमति पाउँ– लिङ्कनले भने।

यस्तो थियो उनको पढाइप्रतिको प्रेम। पढ्न सिकेका मात्र के थिए। त्यसैबेलादेखि उनी हातमा परेका पुस्तक पूरै नपढी चैनको सास लिँदैनथे।

उनी गरिब परिवारमा जन्मेका थिए। काठेघर र फूसको छानोमुनी हुर्के। त्यसैले आफ्नो पैसाले किताब किनेर पढ्ने हैसियत थिएन। तर पुस्तक पढ्ने प्यास भने कहिल्यै मेटिएन र मरेन पनि।

अठार वर्षको उमेरसम्म उनले भाडाको गाडी चलाएर पेट भर्थे। त्यसपछि न्यूसालेममा एउटा स्टोरको म्यानेजर भएर काम गरे। दिनभरी ग्राहकसँग कारोबार मै बित्थ्यो तापनि ग्राहक नआएको मेसो पर्यो कि किताब पढ्नमै लाग्थे। राती त्यसै स्टोरमा कपडाको थान तकिया लगाएर सुत्नु पर्दा पनि पढ्न भने छोड्दैन थिए।

खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान राम्ररी चरितार्थ भएको देखिन्छ।

पछि उनले न्यूसालेममा एउटा हुलाकमा पोष्ट माष्टर भएर काम गर्न थाले। यस्तो ठाउँमा भने उनले पढ्ने मौका कहाँ पाउँदो होलान् जस्तो लाग्न सक्छ तर उनले यहाँ पनि पढ्ने बानी कायमै राखे। किताब त पढ्ने अवसर हुदैनथ्यो तर हुलाकमा भित्रने सबै खाले पत्रपत्रिका भने पढ्थे।

यसरी उनको ज्ञान–विज्ञानको भण्डार दिनानु दिन बढ्दै गयो। र, आफ्नो ज्ञान र विवेकलाई प्रयोग गरी अधिकतम मान्छेलाई फाइदा दिने ठाउँ राजनीति नै हो भन्ने कुरा ठम्याउन उनलाई गाह्रो परेन।

अतः उनले विभिन्न समयाक्रमअनुसार चुनावमा भाग लिँदै गए। सबै चुनाबमा हारे पनि उनको प्रयास जारी नै रह्यो र अन्ततः राष्ट्रपतिपदको लागि भएको निर्वाचनमा भने जितेर छाडे।

-प्रेरकसंसारबाट

सम्बन्धित खबर