आमा,
म बोल्न सकिन
दाईको उमेरकाले मेरो शरिरलाई गिद्दे नजर लगाउँदा
गलत शब्दले मलाई बोलाईरहँदा
हो आमा, म बोल्न सकिन।
एकतिर इज्जत सम्झेर
अनी तिमीले दिएको संस्कार सम्झेर
अह आमा, म बोल्न सकिन।
तिमी नै भनिदेउ
यो कस्तो नियम समाजको
नारी ठुलो स्वरमा हाँस्न नहुने
खुलेर कोहीसँग बोल्न नहुने।
मान्दिन समाजको नियम म
यहाँ दिन डाहडै बलात्कृत हुनुपर्ने
गल्ती आफ्नो नहुँदा पनि भुमरीमा परी जल्नुपर्ने ।
म चिच्याएँ, रोएँ, अनी कति कराएँ
त्यो पापीले सासै थुनिदिदाँ म डराएँ
कतै तिमीसँगको भेट अन्तिम त होइन भनेर
चिच्याउनुसम्म चिच्याएँ।
थाहा छ समाजले मलाई नै नराम्रो भन्छ
तर साहस गरेर तिम्रो लागि फर्किए
एक्ली भएपनी अन्यायको विरुद्द लड्छु भनेर
फर्किए आमा तिमलाई नै सम्झेर।
खुशी हुनु पर्दैन यो समाज
म बाचेर आएकोमा
मात्र तिमी खुशी होउ आमा
मैले अन्यायको विरुद्द लड्न जानेकोमा।
कसरी सुनाउ म
त्यो सम्झनै नसक्ने कहाली लाग्दो क्षण
मात्र धन्यवाद भन्छु यो समाजको नियमलाई
यो घाउमा नुनचुक छर्दिएकोमा।
आमा, हुन त तिमीले पनि छोरी भन्ने हैसियत राख्दिनौँ होला
समाजको त के कुरा घरकैले अघाउने र बिझाउने गरी भन्छन् होला
ठिकै छ, गल्ती त मेरो थिएन
यो समाजले नस्विकारे कतै टाढा गइदिउँला
देख्नेले नचिन्ने, चिन्नेले नदेख्ने म बिरानो भइदिउँला।
बलात्कारीलाई धरौटिमा छुटाउने कानुन छ यहाँ
न्यायको के आश गर्नु र खै?
बदला त म पक्कै लिनेछु
चुपचाप सुटुक्क पस्नेछु शहरमा
म आफै न्यायलय, आफै वकिल भएर आउनेछु।
पक्कै एकदिन बोल्न सक्ने भएर आउनेछु
हो आमा, म एकदिन अवश्य आउनेछु।