विहीबार, २५ साउन २०८०, दोलखा । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नु पर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउने तर्फ उद्धत भएको आरोप लगाएका छन।
हिजो बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले यस्तो बताए।
शर्माले संसद अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए। शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिने कुरामा कसैको हानी नहुने बताए।शर्माले राजश्व अनुसन्धान र सिआईबीले मात्रै अनुसन्धानको निस्कर्ष निकाल्न नसक्ने बताए।
सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने बताए। शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा माओवादी केन्द्रका सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए।
सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने बताएका थिए।