सोमबार, २९ साउन २०८०, दोलखा । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की पुल, सडक लगायत संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला प्रहरीले जनाएको छ।
बाढीले प्रहरी चौकी, विद्यालय, गुम्बा, पाटीलगायत संरचनामा पनि क्षति पुर्याएको पनि बताइएको छ। कागखोलामा मिसिने खहरे खोलाहरु थुनिएका कारण आएको बाढीबाट ठूलो क्षति भएको खबर आएको र सुरक्षाकर्मीहरु सहितको टोली अहिले घटना स्थल तर्फ गईरहेको प्रहरीले जनाएको छ।
बाढीले केही विद्युतका पोलहरु समेत बगाएको छ। राती अचानक बाढी आएपछि मानिसहरु भागगाग गरेका थिए। बाढीले घरहरु बगाउँदा कालिगण्डकी आंशिक रूपमा थुनिएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
कागबेनीको पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको छ।