सोमबार, २९ साउन २०८०, नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको छ।
सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो भनेका हुन। ज्ञवालीले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको भन्दै अनुसन्धान ढिलाइ गर्नुले प्रमाणहरु नष्ट हुँदै जाने बताए।
उपमहासचिव ज्ञवालीले उच्चस्तरीय छानबिन न्यायिक समिति बनाइ जरैसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो हुनुका साथै नेपालको भूराजनीतिमा समेत असर पर्ने बताए। ज्ञवालीले सरकारले छानबिनमा आलटाल गरेको र प्रतिपक्षको आवाज दबाउन खोजेको र संलग्न मन्त्रीहरुले राजीनामा दिनुपर्छ भन्दा तर्साउनका लागि सांसदलाई थुन्ने काम सरकारबाट भएको बताएका छन।
उपमहासचिव ज्ञवालीले सिआईबीले नाम किटान गरेकालाई समेत छानबिनको दायरामा नल्याउने र सरकारी वकीलले उनीहरुको नाम हटाएर मुद्दा दायर गर्नुले छानबिनमा दबाब र प्रभाव छ भन्ने प्रमाणित भएको बताए।
बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति तोकेको छ। उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ। त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १० र ११ कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।
उपमहासचिव ज्ञवालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनु पर्ने कुरामा ध्यान दिनु पर्ने जानकारी दिए। ज्ञवालीका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु रहनुपर्ने छ।
त्यस्तै, बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ। सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय पनि पार्टीले गरेको छ।
एमालेले कञ्चनपुरमा भएको युवासंघको झडपको विषयमा छानबिन गर्नका लागि ३ सदस्यीय टोलीसमेत गठन गरेको छ।
टोलीमा उपाध्यक्ष युवराज ज्ञवाली‚ स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो ज्वालाकुमारी साह रहेका छन्।
