विहीबार, ३२ साउन २०८०, दोलखा । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले हकप्रद शेयरको आवेदन खुलाएको छ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको अपर तामाकोशी हाइड्रोपावरले भदौ १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। कम्पनीले आज सुचना जारी गर्दै १ः१ को अनुपात अर्थात विद्यमान १ कित्ता साधारण शेयरका दरले शेयरधनीका लागि आगामी भदौ १८ गतेदेखि असोज ७ गते सम्म आवेदन खुल्ला गरेको जनाएको छ। यो सँगै अब भदौ १८ गतेदेखि असोज ७ गते सम्म हकप्रद शेयरको लागि आवेदन दिन सकिनेछ।
कम्पनीबाट प्रति साधारण शेयर १०० अंकित दरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन हुनेछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। गत वर्ष २०७९ साल भदौ ३ गते बसेको १४ औं साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड बराबरको प्रति शेयर रकम १०० अंकित दरको १० करोड ५९ लाख कित्ता साधारण शेयरको हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलबिद्युत आयोजनाका लागि माथिल्लो तामाकोशीमा शेयर लगानी गरेका साविककै लगानीकर्ताहरुबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम संकलन गरी बित्तीय व्यवस्थापन गर्न लागेको हो। हिजो मात्रै रोल्वालिङ खोला जलविद्युत् आयोजनाका लागि माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र एनइएसीई बीच सम्झौता भएको छ।
© २०८२, अनलाईन बुलेटिन