माओवादी केन्द्रको निष्कर्ष : पार्टी सदस्य बराबर मतसमेत आएन, यस्ता छन् चार कारण


कृष्ण बुढाथोकी

शनिबार, ०९ भदौ २०८०, दोलखा । सशस्त्र विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी केन्द्रले २वटा संविधानसभा र २वटा संघीय प्रतिनिधिसभा निर्वाचनको सामना गर्‍यो।

२०६४ को निर्वाचनमा युद्धको रापतापकाबीच चुनावी प्रतिस्पर्धा गरेको माओवादीले समानुपातिकमा ३१ लाख बढी मतसहित प्रत्यक्षतर्फ १२० सिट जितेर सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो।

त्यसयता निरन्तर खुम्चिँदै गएको माओवादीले गत महिना राजधानीमा भएको केन्द्रीय समिति बैठकमा यसबारे गम्भीर समीक्षा गरेको थियो। प्रत्येक निर्वाचनमा माओवादी कसरी कमजोर भयो भन्ने सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पेस गरेको प्रस्तावबारे बैठकमा समीक्षा गरेको थियो। माओवादी कमजोर हुनुको पछाडि आधारभूत जनता र वर्गसँग पार्टीको सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको माओवादीको निष्कर्ष छ।

यस्तो छ चुनावी समीक्षा

२०६४ को निर्वाचनमा जनयुद्धको रापतापका बीचबाट सबैभन्दा ३१ लाख बढी मत र प्रत्यक्षतर्फ १२० सिट ल्याई देशकै सबैभन्दा ठूलो पार्टी भएको।

२०७० को प्रतिस्पर्धामा खुम्चिएर प्रत्यक्षतर्फ २६ सिट र १४ लाख ३९ हजार मत पाएको।

२०७४ मा पहिलोपटक स्थानीय निर्वाचन सामना गर्नुपरेको। नेकपा एमालेसँग संघ र प्रदेशको चुनावमा गठबन्धन गरी उठेकोमा, त्यतिबेला ३६ सिट र १३ लाख मत प्राप्त भयो।

२०७९ को चुनावी गठबन्धनमा कांग्रेससँग सहकार्य भयो। यतिबेला अर्थात् २०७९ मा ११ लाख ७५ हजार मतमा १८ सिटमा सीमित भएको र राजधानी काठमाडौँ उपत्यकाभित्र निल भएको समीक्षा गरेको छ।

चुनावी प्रतिस्पर्धामा माओवादी कसरी कमजोर भयो

१. यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ।

२.आठौँ महाधिवेशनमा आइपुग्दा वैचारिक रूपमा केही हदसम्म प्रगति भएपनि त्यसको कार्यान्वयनका लागि आम जनता र कार्यकर्तामा स्पष्टता र संगठनात्मक क्षेत्रमा व्यवस्थित एवम् सुदृढ गर्ने कार्यमा व्यवस्थित हुन सकेनौँ। अझ गम्भीर कुरा त के छ भने पार्टी सदस्यता बराबर समानुपातिक मत प्राप्त नभएको कुरा जिल्लामा प्राप्त भएको समानुपातिक तर्फको मतले हाम्रो संगठनको अवस्थालाई उजागर गरेको छ।

३.निर्वाचनमा जुनजुन प्रदेश र जिल्लाहरूमा पार्टीमा एकरूपता र सहमतिको साथ निर्वाचन प्रक्रियामा सहभागी भयौँ त्यहाँ सकारात्मक परिणाम हाँसिल भयो। जुन प्रदेश र जिल्लाहरूमा पार्टी एकता र सहमति देखिएन त्यहाँ प्रतिस्पर्धा आम निर्वाचन जित्ने जिताउने भन्दा एक आपसमा एक अर्कोलाई हराउनेतिर उन्मुख भएको पाइयो।

४.अर्को कुरा हाम्रो जनमत तुलनात्मक रूपले राम्रो रहेको निर्वाचन क्षेत्रहरू गठबन्धन भित्रका अरू दलहरूलाई छोड्नु पर्ने बाध्यता र जनाधार नै नभएका कतिपय क्षेत्रहरू लिने रुचिले परिणाममा थप गम्भीर असर पार्‍यो। अझ गम्भीर कुरा त के रह्यो भने गठबन्धन दल मुख्यतया नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुने समस्या हाम्रो परिणामका लागि जिम्मेवार बन्न पुग्यो। यस चुनावी समीक्षाका बारेमा सबै जिल्ला र प्रदेशहरूको रिपोर्ट प्राप्त भएपश्चात पार्टी केन्द्र कार्यालयले विस्तृत समीक्षाको रिपोर्ट तयार पारे पश्चात् आवश्यक निर्णयमा पुग्नु पर्दछ।

माथिका ४ कारणबारे गम्भीर समीक्षा गरी पार्टीको आन्तरिक जीवन र राजनैतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र सम्भावनाको सदुपयोग गर्ने एउटा अवसर फेरि आएको उल्लेख छ।

पार्टीको समग्र वैचारिक–राजनैतिक–सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नुपर्नेमा जोड दिएको छ।

सम्बन्धित खबर