आइतबार, १० भदौ २०८०, दोलखा । आइतबार राष्ट्रियसभा बैठक बस्दैछ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ।

बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्ने छन्।

साथै विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानूनहरूको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ।