माथिल्लो तामाकोशी निर्माणको नेतृत्व गरेका उच्च अधिकारीको बिदाई


कृष्ण बुढाथोकी

सोमबार, ११ भदौ २०८०, दोलखा । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको नेतृत्व गरेका उच्च अधिकारीहरुलाई विदाई गरिएको छ।

माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावर लिमिटेड अपरले सोमवार एक कार्यक्रमका वीच उच्च अधिकारीहरुको विदाई गरेको छ। अपर तामाकोशी हाइड्रो पावर लिमिटेड पूर्व प्रमुख कार्यकारी अधिकृतहरु बिज्ञानप्रसाद श्रेष्ठ र दिनेशजंग राणा, तामाकोशी जलबिद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनोद भण्डारी, हालै मात्र दुधकोशी जलबिद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका बिमल गुरुङ, अपरका पूर्व प्रशासन प्रमुख बिनोदचन्द्र कर्माचार्य र बातावरणविद डा.गणेशप्रसाद न्यौपानेलाई विदाई गरेका छन्।

विदाई कार्यक्रममा अपर तामाकोशी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले माथिल्लो तामाकोशी आयोजना निर्माणमा आयोजना प्रमुख बिज्ञानप्रसाद श्रेष्ठ सहितका उच्च अधिकारीले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान व्यक्त गरे। कार्यक्रममा पूर्व कार्यकारी अधिकृतहरु श्रेष्ठ र राणा, इन्जिनियर गुरुङ तथा बातावरणविद् न्यौपानेले माथिल्लो तामाकोशी निर्माणका क्रममा भएको संघर्ष र योगदानको स्मरण गरेका थिए।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलबिद्युत आयोजना निर्माणमा पूर्व अधिकारीहरुको मत्वपूर्ण योगदान रहेको थियो। सुरुमा मृगेन्द्रवहादुर श्रेष्ठले नेतृत्व गरेको आयोजनाको लामो समयसम्म बिज्ञानप्रसाद श्रेष्ठले नेतृत्व गरेका थिए। आयोजना निर्माणका क्रममा आएका बिभिन्न उचारचढावलाई श्रेष्ठले व्यवस्थापन गरेका थिए। श्रेष्ठ तामाकोशी हाइड्रो पावर लिमिटेडवाटै सेवानिवृत्त भएका थिए। त्यसपछि आयोजना प्रमुखको जिम्मेवारी दिनेशजंग राणाले पाएका थिए।

माथिल्लो तामाकोशीको निर्माणको इन्जिनियरिङ पक्ष तथा सिभिल, इलेक्ट्रोनिक र हाईड्रो मेकानिकल काममा इन्जिनियर विमल गुरुङको भूमिका महत्वपूर्ण थियो। जनसम्पर्क अधिकृतकारुपमा रहेका डा। गणेश न्यौपानले पनि जनसरोकार र आयोजनाका बिषयमा उठेका विवाद निरुपण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित खबर