मंगलबार, १२ भदौ २०८०, दोलखा । नेपाली कांग्रेसका सांसद शशांक कोईरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनु पर्ने बताए।

मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोईरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनु पर्ने बताएका छन्। सांसद कोईरालाले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै राजनीतिमा युवाको आवश्यकता औँल्याए। उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए।

सांसद कोईरालाले सभापतिको उम्मेदवार बन्नेबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए।

उनले भने – पन्ध्रौँ महाधिवेशनको तयारीको सिलसिलामा सातै प्रदेशमा घुम्ने। किनभने भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ। हामी त बुढो भइसक्यौँ कहिले ढल्छौँ थाहा छैन। म सबभन्दा पहिले साथीहरुसँग कुरा गर्छु। उनीहरुको चाहना के हो, मैले मात्रै चाहेर त भएन नि। उनीहरुको चाहना हेर्छु। अनि त्यसपछि निर्णय गर्छु। गठबन्धनको सरकारमा हामीले गिभ एण्ड टेक गर्नुपर्छ। आफ्नै गोरुको बाह्रै टक्का हुँदैन। चाहँदा चाहँदै पनि हामी सुधार ल्याउन सक्ने सम्भावना म देख्दिनँ। गठबन्धन सरकारलाई स्थायित्व दिनका लागि गरेको। जनता खुशी छैन। तर यो बाध्यता हो।

सांसद कोईरालाले गठबन्धनको सरकार भएका कारणले सरकारले चाहेजस्तो काम गर्न नसकेको बताएका थिए।