बुधबार, १३ भदौ २०८०।, दोलखा । सिन्धुलीमा २० किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्।
गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारस्थित बि।पी लोकमार्गमा कारको पछाडिको सिटमुनि प्लास्टिकमा लुकाईछिपाई ल्याइएको २० किलो चाँदीसहित दुई जनालाई आज पक्राउ गरिएको हो। पक्राउ पर्नेमा चालक मोरङ विराटनगर महानगरपालिका–५ का रोहीत कुमार यादव र सोही कारमा सवार सप्तरी राजबिराज नगरपालिका–८ का ३७ वर्षीय शेचन मानन्धर रहेका छन्। बिराटनगरबाट काठमाण्डौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कार चेकजाँच गर्ने क्रममा २० किलो चाँदी बरामद गरिएको हो। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको सिन्धुली प्रहरी निरीक्षक केशब कटुवालले जानकारी दिए।
यस्तै, कमलामाई नगरपालिका–९ मा अवैध सामानसहित ट्रकचालक र ट्रक नियन्त्रणमा लिइएको छ। ट्रक चालक सर्लाही हरिपुर नगरपालिका ७ का २९ वर्षीय अजय चौधरीसहित ट्रक नियन्त्रणमा लिइएको हो। भिमान चेकपोष्टस्थित बि।पी लोकमार्गमा ईलाका प्रहरी कार्र्यालयबाट खटिएको प्रहरी टोलीले एक सय ४२ बोरा भारतीय ब्राण्डको चामल फेला पारेको छ। सर्लाहीबाट काठमाण्डौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ७०६५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा एक सय ४२ बोरा चामल बरामद गरिएको हो। ट्रक चालक चौधरीसहित अवैध सामान र ट्रक नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर धनुषा पठाइएको सिन्धुली प्रहरीले जनाएको हो।
