शुक्रबार, २२ भदौ २०८०, दोलखा। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताए।
हिजो बिहीवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको बताए। उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा शिक्षामा पहुँच वृद्धि गर्न र शुल्क नियन्त्रणका गर्नका लागि आएको बताए। उनले सरकारले बनाएको नीति अनुसार सञ्चालन भएका संस्थाहरु कम मात्रै रहेकाले त्यसको लागि नियमन जरुरी रहेको बताए।
समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै विवादरहित नीति बनाएर चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार तोक्नु पर्ने बताए। उनले आयोग र सिटिइभिटीको क्षेत्राधिकारमा विवाद हुँदै आइरहेको भन्दै त्यसका लागि आयोग र सिटिइभिटीले समन्वय बढाउनु पर्ने बताए।
सांसद पौडेलले चिकित्सा शिक्षा आयोग चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित निकायको नियमनका लागि बनेको बताएका छन्।
