विहीबार, २८ भदौ २०८०, दोलखा। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल भएका छन्।

वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कला जस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो। द न्यूयोर्क टाइम्सले पाँच महिना अघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो।

शाहलाई २०२३ टाइम १०० नेक्स्ट सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ। ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै बालेन प्रभाव सिर्जना गरेको जानकारी दिएको छ।

यसैले गर्दा देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञहरूलाई हराउन सफल भएको पनि बताइएको छ। निर्वाचन अघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारणले आलोचना पनि खेप्न परिरहेको उल्लेख गरिएको छ।