शनिबार, ०६ असोज २०८०, दोलखा। काभ्रेपलाञ्चोकका स्थानीय तहहरुले तत्काल विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन्।
धुलिखेलमा भएको स्थानीय तहका प्रमुख तथा उपप्रमुखको संयुक्त बैठकले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो।
स्थानीय जनप्रतिनिधिले अनिश्चितकालीन विद्यालय बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको भन्दै यस्तो निर्देशन दिएका हुन्। सो बैठक पछि विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरुले बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन्। विज्ञप्तिमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १० स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन्।
तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेको संवैधानिक व्यवस्थाअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। यस्तै, सो बैठकले नेपाल सरकारले संसदमा छलफलको लागि दर्ता शिक्षा विधेयक २०८० तत्काल फिर्ता गरी संशोधनसहित समाधानको बाटो छिटोभन्दा छिटो खोज्न समेत आग्रह गरेको छ।