नेप्सेमा दोहोरो अङ्कको गिरावट आएपनि ३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो


कृष्ण बुढाथोकी

आइतबार, ०७ असोज २०८०, दोलखा। सेयर बजारमा दोहोरो अङ्कको गिरावट भएको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अङ्कले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ।

नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरावलोकन गर्ने भएपछि गत बिहीबार ४४ अङ्कको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अङ्कको गिरावट भएको छ। लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९।७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो।

आइतबार नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ। लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ। यस्तै व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ। गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ। आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ।

आइतबार कारोबार भएकामध्ये स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ। यस्तै थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ९।७३ प्रतिशतले बढेको छ।

सम्बन्धित खबर