विहीबार, ११ असोज २०८०, दोलखा। नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ।

दुई केन्द्रीय सदस्य र प्रदेशका बर्तमान अध्यक्षसहित ५ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन।

अध्यक्षमा अहिलेसम्म कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशव पाण्डे, केशबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेपनि दाहाल र ढुंगेलबीच मुख्य प्रतिस्पर्धा हुनेछ। एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका रामेछापका ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्। वाम गठबन्धनबाट २०७४ मा प्रदेश सभामा निर्वाचित उनी एमाले–माओवादीको गठबन्धन सरकारमा मन्त्री भएका थिए।

ढुंगेल २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पपारजित भएका थिए। उनी कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन्। यस्तै, अर्का आकांक्षी दाहाल एमालेका केन्द्रीय सदस्य हुन्। उनी २०४८ सालयता निरन्तर निर्वाचित जनप्रतिनिधि हुन्। तर, गत ४ मंसिर मा भएको निर्वाचनमा उनी उम्मेदवार बनेका थिएनन्।

बागमती प्रदेश उपाध्यक्षमा इश्वर चन्द्र पोखरेल, सुभासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावार्जे लामा, राजेन्द्र राजथलाको उम्मेदवारी दर्ता भएको छ। सचिवमा रत्ना गुरुङ, नवराज सिलवाल, हष्त पण्डित र राजकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् भने उपसचिव पुरुषतर्फ डवल पाण्डे, खडगबहादुर खत्री, टासी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र रमेश महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। उपसचिवमा महिलातर्फ भक्तकुमारी लामा र गंगादेवी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ।